काठमाडौं । तीन वर्षदेखि बन्द रहेको तिब्बतको मानसरोबार यात्रा खुल्ला गर्ने तयारी गरिएको छ । नेपालमा आफ्नो अनुकुलको सरकार आएसँगै चिनियाँ पक्षले तिब्बततर्फको नाका खोलेर मानसरोबार यात्रा सुचारु गर्न लागेको हो ।
मानसरोबार यात्रा खुल्ला गर्न अन्तिम सम्झौताको तयारी भइरहेको एशोसियशन अफ कैलाश टुर अपरेटर्सका उपाध्यक्ष कृष्णप्रसाद ढकालले बताए । नेपालबाट वार्षिक २० देखि २४ हजारसम्म पर्यटक पवित्र धार्मिक स्थल कैलाश मानसरोवर यात्रामा जाने गरेका थिए
तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर जान भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेको समाचार आइरहँदा चिनियाँ पक्षले कोभिड महामारीलाई देखाउँदै सीमा नाका बन्द गरेको थियो ।
ढकालले कैलाश मानसरोवर यात्रा बन्द हुँदा व्यवसायीसहित तीर्थ यात्रीहरु निराह रहँदै आएका थिए भन्दै तिब्बतको नाका खोल्ने कुराले नयाँ संभावना बढेको बताए । उनका अनुसार चीनको सिमानासम्वन्धी निकायले आउँदो अंग्रेजी मे महिनाबाट यात्रा खुल्ला गर्न लागेको हो । यद्यपि यसको अन्तिम सम्झौता बाँकी रहेको ढकालले बताए ।
उनले अबको एक–दुई हप्ताभित्र अन्तिम सम्झौता हुने संभावना रहेको बताए । ढकालले भने, ‘ ‘कैलाश यात्रामा जानका लागि बुकिङहरु पनि आउन थालेको छ । तीन बर्षदेखि यो यात्रा बन्द थियो । यो यात्रा खुल्नासाथै नेपालमा पनि पर्यटकहरु बढ्ने छन् ।’
नेपालगञ्ज, सिमीकोट हुँदै हिल्सा नाकाबाट र काठमाडौं रसुवागढी हुँदै केरुङ नाकाबाट मानसरोबार पुग्न सकिन्छ । कैलाश यात्रा अफ सिर्जनमा हुने भएकोले होटल व्यवसायसहित समग्र पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने ढकालको भनाई छ ।
ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष प्रदीप पण्डितले आउँदो मे महिनाको पहिलो हप्तादेखि कैलाश यात्रा खोल्ने तयारी भएको बताए । केरुङ नाका खोल्ने कुरा चलेसँगै बुकिङहरु आउन थालेको उनले बताए । पण्डितले भने, ‘नेपाल माउन्ट कैलाश मानसरोवर जाने प्रवेशद्धार हो । कैलाश यात्रामा जाने धार्मिक पर्यटकहरुले पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्ने भएकाले नेपालमा पर्यटक आगमनमा पनि वृद्धि हुन्छ ।’
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले केरुङ नाका खुल्यो भने विशेषगरी भारतीय पर्यटकहरुको संख्यामा वृद्धि हुने बताए । पर्यटकहरु नेपाल हुँदै कैलाश जानुपर्ने भएकाले नेपालमा धार्मिक पर्यटक बढ्ने उनले बताए ।
कैलाश यात्रालाई ‘ब्रह्माण्डको केन्द्रमा आध्यात्मिक यात्रा’को रुपमा हेरिन्छ । कैलाश भनेको खाङ रिम्पोचे भएको र यसले हिउँको बहुमूल्य रत्नलाई जनाउने धार्मिक व्यक्तिहरुको भनाई छ । माउन्ट कैलाश (६,७१४ मिटर) उचाइमा रहेको छ । निकै ठूलो शक्ति रहेको मानिने यस पहाडमा भगवान शिव पार्वतीको वास हुने धार्मिक विश्वास छ ।
कैलाश मानसरोबारलाई हरेक वर्ष हजारौं तीर्थयात्रीहरूले परिक्रमा गर्छन् । तर कसैले पनि चढ्ने प्रयास गरेका छैनन् । माउन्ट कैलाशको ओभरल्याण्ड भ्रमणले हिन्दू, बौद्ध, जैन र बोन धर्महरूको आध्यात्मिक केन्द्रमा लैजान्छ ।
कैलाश मानसरोवर यात्रा काठमाडौं–ल्हासा हवाई मार्ग, काठमाडौं–हिल्सा स्थल मार्ग, काठमाडौं–केरुङ रुट, काठमाडौं–तातोपानी रुट हुँदै जान सकिन्छ ।