कोरलाबाट सहजै पुगिन्छ कैलाश मानसरोवर

कोरलाबाट सहजै पुगिन्छ कैलाश मानसरोवर

हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरूको अति पवित्र तिर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि मुस्ताङमा रहेको चीनसँगको कोरला नाकाबाट निकै छोटो र सजिलै पुग्न सकिन्छ।

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीका लागि आर्थिक कारोबारका लागि चीनको (नेचुङ–लिजी) खुलेसँगै नेपालबाट चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा सडक सञ्जालबाट जान सबैभन्दा सजिलो र कम खर्चिलो हुन्छ।

आर्थिक कारोबारका लागि नेचुङ–लिजी नाका खुलेपनि नेपालतर्फ भौतिक पूर्वाधार सहित सहज आवतजावतको वातावरण बनाउन सकेमा कोरला नाका हुदै कैलाश, मानसरोबरमा नेपालका अन्य नाकाबाट भन्दा सहज, छोटो अवधीमै पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए। ‘कोरला नाका धार्मिक पर्यटनका लागि पनि हब बन्छ,‘यहाँबाट कैलाश तथा मानसरोवर जान निकै सहज छ’ अध्यक्ष विष्टले भने।  

उनका अनुसार पोखरा र काठमाण्डौबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै उपल्लो मुस्ताङ आएर कोराला नाका हुदै सवारीसाधनको प्रयोग गरी माउन्ट कैलाश पर्वत तथा मानसरोवरसम्म जान सकिने बताए।‘सस्तो खर्चमा सहजै पुग्न सकिन्छ,अहिले नै आवतजावतको प्रवन्ध नभएपनि धार्मिक पर्यटकलाई नाका खुल्ला भए नेपालका अन्य नाकाबाट भन्दा यहाँबाट सजिलै जान सकिन्छ’अध्यक्ष विष्टले भने।मुस्ताङीलाई आर्थिक कारोबारका लागि चिनियाँ पक्षले नाकामा सहज प्रवेश दिएसँगै नेपाली भूभागमा भौतिक संरचना तयार गरी धार्मिक गन्तब्यका लागि समेत कोराला नाकालाई प्रयोग गर्न सकिने अध्यक्ष विष्टको भनाई छ।चिनियाँ अधिकारीले उपल्लो मुस्ताङका जनप्रतिनिधिहरूसँग माउन्ट कैलाश पर्वत तथा मानसरोवरसम्म जानका लागि समेत नाका खुल्ला गर्ने संकेत बेला–बेलामा गर्ने गरेका छन् ।  

चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् । मुस्ताङको बाटो हुदै कैलाश मानसरोवर जान काठमाण्डौबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र ४ सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुदै मुस्ताङको कोरला बोर्डर पुग्न सकिन्छ। हवाईमार्ग हुदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दुरी पार गरेपछि लोमन्थाङ हुदै करिब साढे ४ घण्टामा नेचुङ पुग्न सकिन्छ।